काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षका खरेलको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दमसहितको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनी अस्पताल भर्ना गरिएको थियो ।
२००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल २०२५/०२६ सालतिर तत्कालीन नेशनल कलेज (हालको शंकरदेव क्याम्पस)मा नेपाल विद्यार्थी संघको इकाइ कमिटीका सचिव भएर राजनीतिमा क्रियाशील भएका थिए।
उनले २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र ०६२/२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। पटकपटक गरी उनले करिब ९ वर्ष जेल जीवन बिताएका थिए।
बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतलाई अदर्श मान्ने खरेल २०५६ मा संसद जितेपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री पनि भएका थिए।
खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने र अन्तिम संस्कार आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिने बताइएको छ ।




















