चितवन । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय हित, लोकतन्त्र र जनजीविकाका सवालमा सबै राजनीतिक शक्ति सचेत हुनुपर्ने बताएका छन् । देश कमजोर भए कुनै पनि दल, नेता वा शक्तिको अस्तित्व सुरक्षित नरहने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक यात्रामा गति मात्र नभई संयम पनि आवश्यक हुने उल्लेख गरे। ‘गाडीमा एक्सिलेटर मात्र हुँदैन, ब्रेक पनि हुन्छ भन्ने कुरा हेक्का राख्नुपर्छ,’ उनले भने ।
नेपाली समाजमा प्रचलित उक्ति ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु’ स्मरण गराउँदै उनले कठिन समयमा राष्ट्र, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय एकतालाई जोगाउनुपर्ने आवश्यकता औँल्याए ।
ज्ञवालीले परराष्ट्र नीति स्पष्ट, सन्तुलित र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा जोड दिँदै राष्ट्रियताको रक्षाका विषयमा सबै राजनीतिक शक्ति संवेदनशील हुनुपर्ने बताए। साथै, जनजीविका, आर्थिक अवस्था, रोजगारी र जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
लोकतन्त्रलाई कमजोर बनाउने वा संस्थामाथिको विश्वास घटाउने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै उनले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने बताए।
‘लोकतन्त्रलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्छ, त्यसलाई कमजोर बनाउने कुनै पनि प्रवृत्तिप्रति सजग रहनुपर्छ,’ उनले भने।
ज्ञवालीले जनताको विश्वास प्राप्त गर्नु ठूलो उपलब्धि भए पनि त्यसलाई परिणाममा रूपान्तरण गर्नु अझ चुनौतीपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण, समृद्धि र जनताको जीवनस्तर उकास्न सबै राजनीतिक शक्तिले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए।



















