चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सुशासन, पारदर्शिता र विधिको शासन स्थापित गर्ने एजेन्डामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र रास्वपा दुवै स्थापित राजनीतिक निरन्तरताको क्रमभङ्ग गर्दै उदाएका शक्ति भएको उल्लेख गरे। दुवै दल संघर्षको बलमा स्थापित भएको भन्दै उनले साझा एजेन्डामा सहकार्य आवश्यक रहेको बताए।
‘सुशासन, पारदर्शिता र थिति बसाल्ने विषयमा दुवै दलको दृष्टिकोण मिल्छ। यी एजेन्डामा हामी रास्वपासँगै रहने प्रतिबद्धता व्यक्त गर्छौं,’ पुनले भने।
उनले नेपाली राजनीतिक परिवर्तन सहज रूपमा हासिल नभएको उल्लेख गर्दै लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै राजनीतिक शक्ति जिम्मेवार हुनुपर्ने बताए।
पुनले राजनीतिक परिवर्तन र सुधारका नाममा संविधानको सीमाभन्दा बाहिर जान नहुनेमा पनि जोड दिए। लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउँदै संविधानको दायराभित्र रहेर राजनीतिक प्रतिस्पर्धा र सुधारका प्रयास अघि बढाउनुपर्ने उनको भनाइ थियो।
‘संविधानभन्दा बाहिर जानु हुँदैन। लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउँदै परिवर्तनका एजेन्डालाई संस्थागत गर्नुपर्छ,’ उनले भने।



















