काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि सहभागी भएका छन् । नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेकपाबाट नेता वर्षमान पुन, जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष राजेन्द्र लिङ्देन तथा जनमत पार्टीबाट अध्यक्ष सीके राउत सहभागी भएका छन् ।
यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि महाधिवेशनमा उपस्थित भएका छन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनबाट रास्वपाले नयाँ नेतृत्व चयन गर्नेछ । त्यसअघि पार्टीले विधान संशोधन गरिसकेको छ । संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने व्यवस्था गरिएको छ ।




















