चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रम छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन पेश हुने छ । विधान मस्यौदा पारित भएपछि महाधिवेशन नयाँ नेतृत्व चयनमा प्रवेश गर्नेछ ।
महाधिवेशनको उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुलाई पनि बोलाएको छ ।
महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन् । जसमा तीनसय प्रतिनिधि दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ । महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।
भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।
हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । उनका अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुई जना रहनेछन् । अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिर्वाय उल्लेख गरिएको छैन । विधान संशोधान भएपछि यसपटक उपसभापति, सहमहान्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिर्वाय महिला हुनेछन् ।
यस्तै विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ । बृहत् राजनीति समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल भएको पराजुलीले बताए । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् ।
पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ ।
सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ । यस्तै छ प्रदेश ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिए ।




















