काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली असार ६ गते राति ८ः३० बजे पार्टीको वेबसाइटमार्फत प्रकाशन गरिनेछ।
कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिमाथि दाबी तथा विरोध असार ७ गते राति ८ः३० बजेसम्म चितवन औद्योगिक प्रदर्शनी केन्द्रस्थित निर्वाचन आयोगको सम्पर्क सचिवालयमा दर्ता गर्न सकिनेछ। सोही दिन राति ११ बजेसम्म प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिने जनाइएको छ।
उम्मेदवारी मनोनयनका लागि फाराम वितरण असार ८ गते दिउँसो १ बजेदेखि सुरु हुनेछ भने मनोनयनपत्र दर्ता सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ। उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ६ बजे प्रकाशित गरिनेछ।
उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ता गर्ने समय साँझ ६ बजेदेखि ७ बजेसम्म तोकिएको छ। त्यसपछि बेलुकी ७ बजेदेखि ९ बजेसम्म जाँचबुझ प्रक्रिया सञ्चालन हुनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम समय बेलुकी ९ः१५ बजेसम्म निर्धारण गरिएको छ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली असार ८ गते राति ११ बजे सार्वजनिक गरिनेछ।
कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यहरूको निर्वाचनका लागि पहिलो चरणको मतदान असार ९ गते बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरी परिणाम घोषणा गरिने जनाइएको छ।
दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन सम्बन्धी कार्यतालिका भने पछि सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।






















