काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षका मागप्रति बेवास्ता गरिएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति सच्याउन माग गर्दै आफूहरू १६ दिनदेखि प्लेकार्डसहित विरोधमा उत्रिएको स्मरण गराए। प्रधानमन्त्रीले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन बारम्बार आग्रह गर्दा पनि सभामुख डोलप्रसाद अर्यालले कुनै सुनुवाइ नगरेको उनको गुनासो थियो।
साम्पाङले सरकार र सभामुख दुवैले प्रतिपक्षको आवाजलाई बेवास्ता गरेको आरोप लगाउँदै यस्तो अवस्था रहे संसदलाई प्रभावकारी ढंगले सञ्चालन गर्न कठिन हुने बताए। उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूमा नैतिकता, जिम्मेवारीबोध र जवाफदेहिता अपरिहार्य हुने धारणा व्यक्त गरे।
बजेट निर्माण तथा वितरण प्रक्रियामा देखिएको कमजोरीप्रति पनि उनले प्रश्न उठाए। रक्षा मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) उपलब्ध नगराई सम्बन्धित मन्त्रालयको बजेटमाथिको छलफल सम्पन्न गरिएको भन्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जवाफ मागे।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेटमा समेत गम्भीर त्रुटि देखिएको उनको दाबी छ। पाँच अर्ब रुपैयाँभन्दा बढी विनियोजित बजेटमध्ये एक अर्ब ६१ करोड रुपैयाँको मात्रै स्पष्ट विवरण रहेको र बाँकी चार अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकमको खर्च विवरण अस्पष्ट रहेको उनले बताए। यस्तो त्रुटिले बजेटको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
साम्पाङले भारतको पटनामा नेटवर्किङ व्यवसायको प्रलोभनमा परी करिब ९ सय नेपाली बन्धक बनाइएको सूचना प्राप्त भएको उल्लेख गर्दै उनीहरूको तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए। त्यहाँ नेपालीहरूको मोबाइल फोन जफत गर्ने, कुटपिट गर्ने र नियन्त्रणमा राख्ने कार्य भइरहेको दाबी उनले गरे।
स्वदेशी युवाशक्ति ठूलो संख्यामा विदेश पलायन भइरहेको भन्दै साम्पाङले सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी बढाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।




















