काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरी सार्वजनिक गरेको हो।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए।
परीक्षा बोर्डका अनुसार सहभागीमध्ये ३ लाख ३२ हजार २४१ जना नियमित र ८५ हजार ९२९ जना आंशिकतर्फका परीक्षार्थी थिए।
सरकारले परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको भए पनि बोर्डले निर्धारित समयभन्दा अगावै नतिजा प्रकाशन गरेको हो।
यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजासमेत परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो। सरकारले एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य दिएको थियो।



















