काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकार अघि बढिरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री खनालले मुलुकको समृद्धि र विकासका लागि संविधानद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्बन्धको ढाँचाभित्र रही काम गरिरहेको बताएका हुन् । विकास सहायतालाई राष्ट्रिय प्राथमिकता र प्रणालीमा आबद्ध गर्न समन्वय गर्ने तथा नेपालका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई केन्द्रित गरिने उनले बताए ।
उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन र सुपरीवेक्षण गर्ने प्रमुख दायित्व वहनका लागि केन्द्रीय निकायको रूपमा परराष्ट्र मन्त्रालय र यसको प्रत्यक्ष निर्देशन, नियन्त्रण र सुपरीवेक्षणमा रही विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले नेपालको परराष्ट्र सम्बन्धको कार्यान्वयन गरिरहेको बताए ।
परराष्ट्र मन्त्रालयलाई समान–समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध रहेको भन्दै उनले सोही अनुसार बजेट र साधन स्रोतको व्यवस्थापन प्राथमिकतामा परेको जानकारी दिए ।
उनले विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका कामहरू मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी बजेटमार्फत नेपाली डायस्पोरा ग्लोबल नेटवर्क स्थापना तथा सञ्चालनको लागि प्रस्ताव गरिएको उनले बताए । उनले आगामी आर्थिक वर्ष सगरमाथा संवादको दोस्रो संस्करण आयोजना गर्ने प्रस्ताव पनि राखेको जानकारी दिए ।




















