काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनविपरीत काम गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने बताएका छन्। आफ्नै दलका व्यक्ति भए पनि गलत कार्यमा संलग्न पाइए कानुनी कारबाहीबाट नछुट्ने उनको भनाइ छ।
विपद् व्यवस्थापन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले सुरक्षा निकायलाई निष्पक्ष रूपमा काम गर्न निर्देशन दिइसकेको बताए। उनले अपराध नियन्त्रण र नागरिक सुरक्षाका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल भएको जानकारी दिए।
“सेवा नै हाम्रो धर्म हो। सुरक्षा निकाय नागरिकको सुरक्षाका लागि हो। अपराध नियन्त्रणलगायतका विषयमा हिजो सबै सुरक्षा निकायका प्रमुखहरूसँग बैठक बसेको थियो। गलत गर्ने व्यक्ति आफ्नो पार्टीको होस् वा अरू पार्टीको, हामी छुट दिँदैनौँ,” उनले भने।
गृहमन्त्री गुरुङले सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप र दबाबको अवस्था अन्त्य भएको दाबी गर्दै कानुन कार्यान्वयनमा सरकारले कडाइ गर्ने बताए।
विपद् व्यवस्थापनको तयारीबारे बोल्दै उनले मनसुनजन्य जोखिमलाई ध्यानमा राखेर सरकारले पूर्वतयारी तीव्र बनाएको जानकारी दिए। पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायतका प्रमुख सडकमा अवरोध हुँदा तत्काल सञ्चालनमा ल्याउन गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको उनले बताए।
उनका अनुसार बाढी, पहिरो तथा अन्य विपद्का बेला आवश्यक उपकरणको तत्काल परिचालन गर्न डिजिटल प्रणाली विकास गरिएको छ। राइड सेयरिङ एपको अवधारणामा आधारित उक्त प्रणालीमार्फत डोजर, एक्स्काभेटर लगायतका उपकरण कहाँ उपलब्ध छन् भन्ने जानकारी प्राप्त गरी आवश्यक स्थानमा छिट्टै परिचालन गर्न सकिनेछ।
गुरुङले विगतका सरकारका कामको आलोचना मात्र नगरी सकारात्मक अभ्यासलाई निरन्तरता दिने र कमजोरी सुधार्दै अघि बढ्ने नीति सरकारले अवलम्बन गरेको पनि बताए।




















