काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नागढुंगा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा दिएको अभिव्यक्तिले विवाद उत्पन्न गरेको छ। आयोजनास्थलमा निर्माण कार्यमा अवरोध गरिरहेको भन्दै बिजुलीको पोल सार्ने ठेकेदारप्रति उनले ‘खुट्टा भाँचिदिनुस्’ भन्ने निर्देशन दिएका हुन ।
आइतबार आयोजना क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका मन्त्री लम्सालले वर्षायाम सुरु भइसकेकाले सम्भावित जोखिमलाई न्यून गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए। उनले काममा लापरवाही वा अनावश्यक ढिलाइ कुनै हालतमा स्वीकार्य नहुने चेतावनी समेत दिए।
अनुगमनका क्रममा निर्माण व्यवसायीले बिजुलीका पोल नसारिँदा काम प्रभावित भएको गुनासो गरेका थिए। त्यसक्रममा मन्त्री लम्सालले पोल सार्ने जिम्मेवारी पाएको ठेकेदारलाई तत्काल उपस्थित गराउन निर्देशन दिँदै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए।
‘यो पोल सार्ने कन्ट्रयाक्टर जहाँ भए पनि खोजेर यहाँ ल्याउनुस्। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस्, मतलब भएन। चाँडोभन्दा चाँडो पोल सार्नुपर्छ, यहाँका जनताले धेरै दुःख पाएका छन्,’ मन्त्री लम्सालले भनेका थिए।
उनले आयोजनाका कर्मचारीलाई आवश्यक निर्माण सामग्रीको आपूर्ति तथा अन्य प्रशासनिक सहजीकरणमा कुनै समस्या हुन नदिन पनि निर्देशन दिएका छन्।
करिब ९५ किलोमिटर लामो नागढुंगा–मुग्लिन सडकखण्डलाई तीन प्याकेजमा विभाजन गरेर स्तरोन्नति कार्य भइरहेको छ। पहिलो प्याकेज नागढुंगा–नौबिसे, दोस्रो नौबिसे–मलेखु र तेस्रो मलेखु–मुग्लिन खण्डमा काम भइरहेको छ।
यसअघि पनि मन्त्री लम्सालको निर्देशनमा नौबिसे–मुग्लिन सडक आयोजनामा काम गरिरहेको शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मालाई वैशाख २८ गते प्रहरीमार्फत सिंहदरबार ल्याइएको थियो। निर्माणमा देखिएका अवरोधबारे जानकारी गराएपछि मन्त्रालयका सचिवले माफी माग्दै उनलाई फिर्ता पठाएका थिए।




















