काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि फोहोर व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित महानगर क्षेत्रलाई सात क्लस्टरमा विभाजन गरी व्यवस्थापन गर्ने योजना अघि सारेको छ।
महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार फोहोरको न्यूनीकरण, पुनःप्रयोग, पुनर्चक्रीय उपयोग तथा ‘सर्कुलर इकोनोमी’ को अवधारणालाई प्रवर्द्धन गर्दै प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली लागू गरिनेछ।
नीति तथा कार्यक्रममा स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहोरलाई बन्चरेडाँडा ल्यान्डफिल साइट मा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) सञ्चालन गरी वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।
महानगरभित्र रहेका सार्वजनिक तथा खाली जग्गालाई बालबालिका र ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास तथा विस्तार गर्दै लैजाने योजना पनि समावेश गरिएको छ।
फोहोर व्यवस्थापन सेवा शुल्क ‘प्रदूषकले तिर्ने’ सिद्धान्तका आधारमा एकद्वार प्रणालीमार्फत संकलन गरिने व्यवस्था मिलाइने भएको छ। यसले सेवा शुल्क संकलनलाई व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा वित्तीय साझेदारी सुनिश्चित गर्न पहल गरिने महानगरले जनाएको छ।
फोहोर व्यवस्थापनसम्बन्धी सूचना तथा विवरणलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै अनलाइन एपमार्फत महानगरका सम्बन्धित कार्यालय, सेवा प्रदायक र सेवाग्राहीलाई सहज पहुँच उपलब्ध गराइनेछ।
महानगरले वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रणका लागि उपयुक्त प्रविधिको प्रयोग गर्ने तथा संघ, प्रदेश र अन्य स्थानीय तहसँगको सहकार्यमा वातावरण संरक्षण, प्रदूषण नियन्त्रण र न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिएको छ।




















