काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्ने नीति कडाइका साथ लागू गर्ने योजना अघि सारेको छ।
महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम र ध्यानमार्फत शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्य प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
हाल सञ्चालनमा रहेको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई ध्यानमा राखेर बाइक एम्बुलेन्स सेवा समेत सुरु गरिने भएको छ।
महानगरवासीका लागि मिर्गौला रोग उपचारमा डायलासिस सेवा सहजीकरण गर्ने, मातृशिशु तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने र सार्वजनिक स्थानमा ‘स्तनपान तथा हेरचाह ब्लक’ स्थापना गर्ने योजना पनि समेटिएको छ।
नीति तथा कार्यक्रममा महानगरभित्र सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित नियमन र अनुगमन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्रोत्साहन गरिने उल्लेख छ। साथै विपन्न र असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ।
महानगरले गुणस्तरीय तथा विशिष्ट स्वास्थ्य सेवा विस्तारका लागि महानगर अस्पताल निर्माण गर्ने योजना समेत अघि सारेको छ। बदलिँदो जीवनशैलीसँगै बढ्दै गएका मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याइने भएको छ।
यसबाहेक ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम, महानगरवासीको नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा आकस्मिक स्वास्थ्य शिविर तथा अन्य स्वास्थ्य सेवा सञ्चालनलाई पनि प्राथमिकतामा राखिएको छ।




















