काठमाडौँ । इलोन मस्क शुक्रबार विश्वकै पहिलो ट्रिलियनेयर (खर्बपति) बनेका छन् । उनको रकेट कम्पनी स्पेसएक्सको सेयरले सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो उत्साहजनक सुरुवात गरेसँगै उनी यो उचाइमा पुगेका हुन् ।
ब्लुमबर्गको रिचलिस्ट अनुसार, टेस्ला र स्पेसएक्सका संस्थापक मस्कले विश्वकै सबैभन्दा धनी व्यक्तिका रूपमा आफ्नो स्थानलाई थप बलियो बनाएका छन् । हाल उनको कुल सम्पत्ति १.११ ट्रिलियन डलर पुगेको छ ।
रकेट, दूरसञ्चार र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने उनको यो कम्पनी नास्डाक स्टक एक्सचेन्जमा २.२ ट्रिलियन डलरको मूल्यांकनसहित सूचीकृत भएपछि उनले यो सफलता पाएका हुन् ।
कम्पनीले सुरुमा आफ्नो सेयर प्रतिइकाई १३५ डलरमा बिक्री गर्ने बताएको थियो । तर, स्पेस र मस्कसँग जोडिएका कम्पनीहरूको व्यावसायिक सम्भावनाप्रति लगानीकर्ताहरूको ठूलो आकर्षणका कारण सेयर बजार खुल्नासाथ यसको मूल्य १५० डलर पुग्यो र केही समयका लागि १७६.५० डलरसम्म पुगेको थियो । शुक्रबार बजार बन्द हुँदा स्पेसएक्सको सेयर मूल्य करिब १६१ डलर कायम भयो
शुक्रबार खुला सेयर बजारमा कारोबार सुरु हुनुअघि नै स्पेसएक्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मार्फत लगानीकर्ता र बिक्री प्रबन्धकहरूबाट ७५ अर्ब डलर संकलन गरिसकेको थियो । स्पेसएक्समा मस्कको ४२ प्रतिशत स्वामित्व छ, जसले गर्दा कम्पनीको हरेक निर्णय र कामकारबाहीमा उनको एकल नियन्त्रण रहन्छ । कम्पनीमा भित्रिएको लगानीलाई उनले आफ्नो इच्छा अनुसार खर्च गर्न सक्छन् । ब्लुमबर्गका अनुसार, शुक्रबारको कारोबार बन्द हुँदासम्म स्पेसएक्समा रहेको उनको सेयरको मूल्य ७६७.१ अर्ब डलर पुगेको छ भने उनीसँग थप ५३.८ अर्ब डलर बराबरको स्पेसएक्सको सेयर विकल्प (अप्शन) छ । यसबाहेक उनीसँग टेस्लाको १६८ अर्ब डलरको सेयर र ११६.४ अर्ब डलरको सेयर विकल्प पनि सुरक्षित छ ।
सम्पत्ति वृद्धिले निम्त्याएको बहस
मस्क विश्वकै पहिलो ट्रिलियनेयर (खर्बपति) बनेसँगै विश्वभर आर्थिक असमानताको विषयमा बहस सुरु भएको छ । अहिले उनको कुल सम्पत्ति पोल्याण्ड वा स्विट्जरल्याण्ड जस्ता देशको कुल आर्थिक उत्पादन (जीडीपी) बराबर छ । यस्तो अकल्पनीय सम्पत्तिका कारण मस्क विश्व राजनीतिमा एक शक्तिशाली र विवादित व्यक्तिका रूपमा देखा परेका छन् । अमेरिकी नेतृत्वको आलोचना गर्दै आएका मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि करोडौं डलर सहयोग गरेका थिए । गत वर्ष उनले केही महिना अमेरिकी सरकारी दक्षता विभाग (डोज) को नेतृत्वसमेत सम्हालेका थिए । सरकारी खर्चमा भारी कटौती गर्ने मस्कको नीतिका कारण अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग –यूएसएआईडी) नै बन्द हुन पुग्यो ।
अमेरिकी डेमोक््रयाटिक सिनेटरहरू बर्नी स्यान्डर्स र एलिजाबेथ वारेनलगायतका थुप्रै राजनीतिज्ञहरूले मस्कको यो आर्थिक उचाइको कडा आलोचना गरेका छन् । वारेनले यसलाई एउटा ‘वेकिङ कल (ब्युँझने घण्टी)’का रूपमा लिँदै अब धनीहरूमाथि विशेष सम्पत्ति कर लगाउनुपर्ने आवश्यकतालाई यसले प्रस्ट पारेको तर्क गरिन् । तर, मस्क कागजी रूपमा मात्र ट्रिलियनेयर हुन् किनभने उनको यो सम्पत्ति लगभग पूर्ण रूपमा टेस्ला र स्पेसएक्सको सेयर मूल्यमा आधारित छ । उनले कम्तीमा एक वर्षसम्म आफ्नो स्पेसएक्सको सेयर बिक्री गर्न पाउने छैनन् । स्पेसएक्स सेयर बजारमा सूचीकृत भएपछि कम्पनीले आफ्ना वर्तमान र पूर्व कर्मचारीहरूलाई पारिश्रमिकको रूपमा दिएको सेयरका कारण ४ हजार ४ सयभन्दा बढी कर्मचारीहरू करोडपति बन्ने अपेक्षा गरिएको छ ।
भविष्यका आशा र चुनौतीहरू
स्पेसएक्सको यो विशाल मूल्यांकन कम्पनीले हालसम्म गरेको आम्दानीभन्दा पनि भविष्यमा हुन सक्ने कमाइको अनुमान र उत्साहमा टिकेको छ । अहिले यो कम्पनी नाफामा छैन, अर्थात् यसले आफ्नो व्यवसाय सञ्चालनबाट कमाउनेभन्दा बढी रकम खर्च गरिरहेको छ । एआई र अन्य पूर्वाधारहरूमा ठूलो लगानी गरेका कारण कम्पनीको वित्तीय विवरणअनुसार सन् २०२५ र २०२६ को अहिलेसम्मको अवधिमा मात्रै स्पेसएक्सले ९ अर्ब डलरभन्दा बढी नोक्सानी ब्येहोरिसकेको छ ।
यस कम्पनीको मुख्य काम पुनः प्रयोग गर्न सकिने पार्टपुर्जाहरू भएका रकेटहरूको निर्माण र प्रक्षेपण गर्नु हो । स्पेसएक्सले स्टारलिंक इन्टरनेट भूउपग्रहहरू पनि उत्पादन र प्रक्षेपण गर्दछ । यसै वर्ष मस्ककै स्वामित्वमा रहेको अर्को कम्पनी ‘एक्सएआई’लाई स्पेसएक्समा गाभेपछि यो कम्पनीले एआई व्यवसायमा पनि पाइला टेकेको छ । स्पेसएक्सले रकेट, आफ्नो विस्तार हुँदै गरेको स्टारलिंक इन्टरनेट सेवा र एआई क्षेत्रको विकासका लागि यो रकम उपयोग गर्ने बताएको छ । यसमा अन्तरिक्षमै डाटा सेन्टरहरू निर्माण गर्ने जस्ता महŒवाकांक्षी योजनासमेत सामेल छन् ।
लाफर टेंगलर इन्भेस्टमेन्टकी प्रमुख न्यान्सी टेंगलरले मस्कको ठूलो महŒवाकांक्षा भए तापनि स्पेसएक्सको एआई व्यवसायलाई ‘पैसा स्वाहा पार्ने ठाउँ’का रूपमा टिप्पणी गरेकी छन् । उनले कम्पनीका यस्ता अनुमानित योजनाहरूलाई पूर्ण रूपमा विश्वास गरिहाल्न नहुने बताइन् । यद्यपि, कम्पनीको दीर्घकालीन सम्भावनालाई हेरेर उनले यसको सेयर खरिदको आदेश दिएकी छन् । उनले आफ्नो लगानीको योजना तीन, पाँच वा १० वर्षको अवधिको रहेको बताएकी छन् ।
आगामी दुई वर्षभित्र स्पेसएक्स र टेस्ला एकापसमा गाभिने र त्यसपछि बन्ने कम्पनी अहिलेका दुई अलग कम्पनीभन्दा धेरै गुणा शक्तिशाली र मूल्यवान् हुने अपेक्षा पनि उनले गरेकी छन् । तर, स्पेसएक्सको उद्देश्य भूउपग्रह प्रक्षेपण वा कम्पनीहरू गाभ्ने कुरामा मात्र सीमित छैन, यसका आँखाहरू अझ टाढासम्म पुगेका छन् । आफ्नो आईपीओको विवरण पुस्तिकामा उल्लेख गरेअनुसार स्पेसएक्सको मुख्य लक्ष्य मानव जीवनलाई बहु–ग्रहीय (धेरै ग्रहमा बस्न योग्य) बनाउनु, ब्रह्माण्डको वास्तविक स्वरूपलाई बुझ्नु र ताराहरूसम्म चेतनाको प्रकाश फैलाउनका लागि आवश्यक प्रणाली र प्रविधिहरूको निर्माण गर्नु हो ।
स्पेसएक्सले आफ्नो भविष्यको सफलता र वृद्धि धेरै हदसम्म ‘चन्द्र अर्थतन्त्र’ (लुनार इकोनोमी)को निर्माणमा निर्भर रहने बताएको छ । यसको अर्थ मानिस र सामानहरूलाई नियमित रूपमा चन्द्रमा र मंगल ग्रहसम्म पु¥याउनु हो, जसले गर्दा त्यहाँ एउटा वास्तविक अर्थतन्त्रको विकास हुन सकोस् । तर, यस्तो प्रयास कहिल्यै सफल होला वा नहोला भन्नेमा स्पेसएक्स आफैं पनि पूर्ण रूपमा निश्चित छैन ।
कम्पनीले आफ्नो विवरण पुस्तिकामा लेखेको छ, ‘हाम्रा धेरै योजनाहरूमा अत्यधिक प्राविधिक जटिलताहरू छन्, जसमा अहिलेसम्म प्रमाणित नभएका वा अस्तित्वमै नरहेका प्रविधिहरू प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता योजनाहरू व्यावसायिक रूपमा सफल नहुन पनि सक्छन् ।’ यस्तो अनिश्चितताले शुक्रबार लगानीकर्ताहरूलाई खासै फरक पारेको देखिएन । वेल्थ क्लबकी मुख्य लगानी रणनीतिकार सुसान्ना स्ट्रिटरले सेयर मूल्यमा आएको यो उछालले इलोन मस्कको दृष्टिकोणप्रति मानिसहरूको कति ठूलो चासो छ भन्ने देखाउने बताइन् । मस्कले सधैं पृथ्वीभन्दा बाहिरको दुनियाँका लागि ठूला सपना देख्ने गरेको र धेरै लगानीकर्ताहरूले पनि उनको त्यो उत्साहलाई साथ दिएको उनले उल्लेख गरिन् ।
तर, शुक्रबारको यो तेजी कम्पनीको वास्तविक वित्तीय अवस्थाभन्दा पनि बजारको चर्चा र सेयरको सीमित उपलब्धताका कारण सिर्जना भएको हल्लाले गर्दा भएको हुन सक्ने चेतावनी उनले दिइन् । धेरै व्यक्तिगत लगानीकर्ताहरू स्पेसएक्सको सेयर किन्न आतुर देखिए तापनि कतिपय विश्लेषकहरूले भने अनपेक्षित रूपमा धेरै लगानीकर्ताहरू यसमा जोडिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । साधारण मानिसहरूको पेन्सन कोष र बचत खाताहरूको रकम प्रायः इन्डेक्स फन्डहरूमा लगानी गरिएको हुन्छ, जसले बजारका ठूला कम्पनीहरूको सेयर स्वतः खरिद गर्छन् । यस्तो अवस्थामा स्पेसएक्सको सेयर मूल्यमा आउने उतारचढावले सर्वसाधारणको बचतलाई सिधै असर गर्नेछ ।
त्यसैले अब स्पेसएक्सको सेयर मूल्य कता जान्छ भन्ने कुरा नै लगानीकर्ताहरूका लागि सबैभन्दा ठूलो चासोको विषय बनेको छ । मर्जरमार्केटका इक्विटी क्यापिटल मार्केट रिसर्च प्रमुख सामेल केर भन्छन्, ‘स्पेसएक्सको सवालमा आईपीओ पछिको तत्कालको कारोबार मुख्य कुरा होइन । मुख्य कुरा त यो मूल्य दीर्घकालसम्म कसरी टिकिरहन्छ भन्ने हो ।’



















