काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिक बहादुर खत्री (कुमार केसी) प्यानलसहित विजयी भएका छन ।
नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेसनिकट केही व्यवसायी मिलेर संयुक्त व्यवसायी प्यानल बनाएका थिए ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्व द्वितीय उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा प्यानल बनाएका थिए ।
अध्यक्ष पदमा विजयी खत्रीले ३ सय ४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १ सय ९२ र पाण्डेले १ सय ७० मत पाएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डॉगी (२७३ मत), सचिवमा केदार नाथ अधिकारी (२९४ मत) र कोषाध्यक्षमा धनमाया सिन्जाली (३२३ मत) प्राप्त गरेर विजयी भएका छन् ।
संघको १७ सदस्यीय कार्यसमितिमा पदाधिकारी ७ मध्ये ६ र १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य खत्री प्यानलले जितेको छ । भुर्तेल प्यानलबाट तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल र दुई सदस्य गीता राउत र दीक्षा दाहालले मात्र जितेका छन् ।



















