सिरहा । एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरिएको घटनाको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गर्ने घोषणा गरेका छन्।
संयुक्त विद्यार्थी संगठनको आह्वानमा सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाअगाडि विरोध प्रदर्शन आयोजना गरिने भएको हो। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनामा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने नारासहित सम्पूर्ण विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ।
प्रदर्शनको मुख्य उद्देश्य जफत गरिएका मोबाइल तथा स्मार्ट घडीको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थीमाथि भएको भनिएको अन्यायको अन्त्य गर्न तथा पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्नु रहेको विद्यार्थी नेताहरूले बताएका छन्। अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहले प्रदर्शनले विद्यार्थीका मागप्रति सरकारको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरे।
गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ परीक्षाका क्रममा बरामद गरिएका करिब ५०० मोबाइल फोन र स्मार्ट घडी जिल्ला प्रशासन कार्यालय सिरहाले हालै नष्ट गरेको थियो। प्रशासनले परीक्षा व्यवस्थापनलाई मर्यादित बनाउन र भविष्यमा यस्ता उपकरणको दुरुपयोग रोक्न उक्त कदम चालिएको जनाएको छ।
प्रशासनका अनुसार बरामद सामग्रीमा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट वाच रहेका थिए। ती उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा गठन गरिएको पाँच सदस्यीय समितिमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए। समितिले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइलहरू २४ घण्टा पानीमा डुबाएर राखेपछि पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुर्याई नष्ट गरिएको जनाएको छ।




















