काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म जेलमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
अदालतको आदेशपछि अधिकारीलाई नख्खु कारागार पठाइने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।
व्यवसायी कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा तुलसा अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी रहेका छन्। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।
जाहेरीकर्ताले अधिकारीमाथि २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। अनुसन्धानका क्रममा अधिकारीको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको भन्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत चलाइएको छ।
प्रहरीका अनुसार २०८२ भदौदेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्यान्ड पुगेकी थिइन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो। अदालतमा उपस्थित गराइएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।




















