काठमाडौं । ललितपुरस्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको सरकारी स्कर्पियो गाडी चोरी भएको छ।
प्रहरीका अनुसार उक्त स्कर्पियो मध्यराति गोदावरी नगरपालिका–ठेचो क्षेत्रबाट चोरी भएको हो। गाडी हराएको जानकारी प्राप्त भएपछि प्रहरीमा उजुरी दर्ता गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रले चोरी भएको स्कर्पियोको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको बताएका छन्।
उनले भने, “विभिन्न प्राविधिक माध्यम तथा अनुसन्धानका आधारमा गाडीको खोजी भइरहेको छ। हालसम्म स्कर्पियो फेला परेको छैन।”
प्रहरीका अनुसार घटनास्थल आसपासका सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेर गएको दृश्य देखिएको छ। फुटेजका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी लिन प्रहरीले स्कर्पियोका चालकसँग पनि सोधपुछ गरेको छ। चालकले भने आफू राति सुतेको अवस्थामा गाडी चोरी भएकाले घटनाबारे कुनै जानकारी नभएको बताएका छन्।
प्रहरीले गाडी चोरीमा संलग्न व्यक्तिको पहिचान तथा स्कर्पियोको खोजीका लागि अनुसन्धान जारी राखेको जनाएको छ।




















