काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।
खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो । हिउँले उनका हातखुट्टा प्रभावित भएको बताइएको छ ।
एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका दावा फर्किने क्रममा जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । उनको खोजीमा एटके एक्सपिडिसनका एमडी शेर्पाले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको टोली परिचालन गरेका थिए ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)का कामदाहरुले उनलाई आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा आज विहान फेला पारेर उद्दार गरेका थिए ।
ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका शेर्पा आरोही पर्यटकहरुको सहयोगीका रुपमा सगरमाथा गएका थिए ।
एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौं ल्याइएको घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन्।



















