दैलेख । सुर्खेतदेखि कालीकोटतर्फ जाँदै गरेको डबल क्याप बोलेरो जिप दैलेखमा दुर्घटनामा परेको छ। सु.प. ०१००१ च ४९६४ नम्बरको जिप दैलेखको भैरवी गाउँपालिका- ७ कालिगौडास्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिपको ब्रेकफेल भई सडकबाट करिब चार सय मिटर तल खसेको हो। जिपमा ८ जना सवार थिए।
दुर्घटनामा परी शुभकालीका गाउँपालिका वडा नम्बर ५ का चालक कलबहादुर रोकाय, जिपमा सवार शुभकालीका वडा नम्बर ४ का मित्र सुनार र वडा नम्बर ६ का पुल्तिसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख श्रवणकुमार विकले जानकारी दिए।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि दैलेख जिल्ला अस्पताल ल्याइएको थियो। डाक्टरले चेकजाँचपछि तीनै जनालाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा परी भरत विक, कलम सुनार, सुमत विक, नैन सुनार घाइते छन्। घाइतेमध्ये सुमत विक र नैन सुनारलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतर्फ रिफर गरिएको छ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकको नेतृत्वमा प्रहरी टोली खटिएको छ।



















