काठमाडौं । धार्मिक सद्भाव भड्काउने तथा आस्थामाथि आघात पुग्ने अभिव्यक्ति दिएको आरोपमा दलित अभियन्ता जनक परियार पक्राउ परेका छन् ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार बस्दै आएका २७ वर्षीय परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा परियारले ‘मठ मन्दिर आगो लगाइदिनेछौं’ लगायतका अभिव्यक्ति दिएका थिए । उक्त भनाइले धार्मिक भावना र सामाजिक सद्भावमा असर पुगेको भन्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार परियारमाथि थप अनुसन्धान भइरहेको छ ।
यसअघि परियारले संवाद डबलीमै आफूबाट गल्ती भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी समेत मागेका थिए ।


















