पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका भवनहरू हटाउन सुरु गरेको छ ।
महानगरपालिकाले बिहीबार डोजर प्रयोग गरेर अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो। महानगरका अनुसार प्रमुख राजनीतिक दल तथा विभिन्न संघ–संस्थासँग सम्बन्धित गरी नौ वटा भवनमा डोजर चलाइएको छ।
सार्वजनिक जग्गाको संरक्षण तथा खोला क्षेत्र व्यवस्थित बनाउने उद्देश्यसहित महानगरले ‘खोलाघर क्लियर’ अभियान सञ्चालन गर्दै आएको जनाएको छ। उक्त अभियान अन्तर्गत गत आइतबारदेखि अतिक्रमित संरचना हटाउने कार्यलाई निरन्तरता दिइएको छ।
महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र नदी–खोला क्षेत्र खाली गराउने कार्यलाई नियमित अभियानका रूपमा अघि बढाइएको जनाएको छ।




















