काठमाडौँ । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ । फोरमले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारको निर्णय संविधान र शिक्षा ऐनको मर्मविपरीत रहेको निष्कर्ष निकालेको हो।
फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय तहले बनाएको शैक्षिक क्यालेन्डरलाई बेवास्ता गर्दै केन्द्र सरकारले राजपत्रमार्फत आइतबार बिदा दिने निर्णय गर्नु संवैधानिक अधिकार कुण्ठित गर्ने कार्य भएको बताए।
उनले शिक्षा ऐनअनुसार विद्यालय वर्षमा कम्तीमा २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै अचानक गरिएको निर्णयले पठनपाठन प्रभावित हुने अवस्था सिर्जना भएको बताए।
‘विद्यालयहरूले शिक्षा ऐनअनुसार २२० दिन सञ्चालन हुने गरी आफ्नो शैक्षिक क्यालेन्डर बनाइसकेका छन्,’ उनले भने, ‘तर सरकारले अप्रत्याशित रूपमा आइतबार पनि बिदा दिने निर्णय गरेपछि अब विद्यालय १९० दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था देखिएको छ।’
महर्जनका अनुसार संविधानको अनुसूची–८ ले आधारभूत शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई प्रदान गरेको छ। यस्तो अवस्थामा केन्द्र सरकारको निर्णयले स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको उनको भनाइ छ।
बैठकले यस विषयमा थप अध्ययन गर्न काठमाडौँ भ्याली मेयर्स फोरमको सचिवालयलाई जिम्मेवारी दिएको छ। अध्ययन प्रतिवेदनपछि ‘फुल फ्लेज’ बैठक बसेर थप रणनीति तय गरिने जनाइएको छ।
‘शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहको नैसर्गिक तथा कानुनी अधिकार हो,’ महर्जनले भने, ‘यदि सहजीकरणको उपाय ननिस्किए कानुनी प्रक्रियाबाट समेत समाधान खोजिनेछ।’
देशका धेरै स्थानीय तहले केन्द्र सरकारको निर्णयका बाबजुद पनि आइतबार विद्यालय सञ्चालन गरिरहेका छन्। तर उपत्यकाका पालिकाले तत्काल निर्णय लिन नसक्नुको कारण राजपत्रमा प्रकाशित सरकारी सूचनासँग जोडिएको कानुनी जटिलता रहेको महर्जनले बताए।
यसैबीच, बैठकले स्थानीय तहअन्तर्गत रहेका विभिन्न सरकारी भवनहरूको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्न पनि सरकारसँग माग गरेको छ। वडा कार्यालय, अस्पताल तथा समाज कल्याणसँग सम्बन्धित भवनहरूको स्वामित्व स्थानीय सरकारलाई दिनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको जनाएको छ।




















