काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २४ गते देशका विभिन्न स्थानमा भएको तोडफोड, हत्या तथा हिंसात्मक घटनालाई पूर्वतयारीसहित गरिएको संगठित आपराधिक गतिविधिको रूपमा निष्कर्ष निकालेको छ ।
आयोगले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा उक्त दिन भएका घटनालाई सामान्य प्रदर्शन नभई योजनाबद्ध रूपमा सञ्चालन गरिएको आपराधिक गतिविधि भन्दै नेपाल सरकारलाई त्यसअनुसार अनुसन्धान र कानुनी कारबाही गर्न सिफारिस गरेको हो ।
प्रतिवेदनमा भनिएको छ, “भदौ २४ गतेको घटना २३ गतेको घटनाबाट प्रभावित तथा आक्रोशित व्यक्तिबाट सुरु भएको देखिए पनि त्यस दिन देशैभरि एकै समयमा, एकै उद्देश्यका साथ भएका गतिविधि पूर्वयोजनाअनुसार संगठित रूपमा सञ्चालन गरिएको आपराधिक कार्य देखिन्छ ।”
आयोगले भदौ २४ मा भएका अधिकांश घटनालाई आपराधिक गतिविधिका रूपमा हेरी सम्बोधन गर्नुपर्ने उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार उक्त दिन ३ जना नेपाल प्रहरीको प्रदर्शनकारीको कुटपिटबाट मृत्यु भएको थियो भने नेता, कार्यकर्ता तथा सुरक्षाकर्मीमाथि संघातिक आक्रमण गरी घाइते बनाइएको थियो ।
त्यस्तै आन्दोलनकारीद्वारा गरिएको आगजनीका कारण २१ जनाको मृत्यु भएको आयोगले जनाएको छ । जसमध्ये ९ जनाको मात्र पहिचान खुलेको र बाँकी १२ जनाको पहिचान अझै हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले प्राध्यापक रविलक्ष्मी चित्रकार लगायत धेरै व्यक्ति आगजनीमा परी गम्भीर घाइते भएको तथा देशभर अर्बौँ रुपैयाँ बराबरको सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको उल्लेख गर्दै यी घटनालाई संगठित अपराधका रूपमा अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो।




















