काठमाडौं । सरकारले आर्थिक संकटलाई कारण देखाउँदै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूमा प्रदान हुँदै आएका अधिकांश स्वास्थ्य बीमा सेवा रोक्ने निर्णय गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले वित्तीय दायित्व बढ्दै गएको र भुक्तानी व्यवस्थापनमा समस्या देखिएको भन्दै निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक (इमर्जेन्सी) बाहेकका अन्य बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले सेवा प्रदायक अस्पतालहरूलाई पत्र पठाउँदै उक्त निर्णयबारे जानकारी गराएको छ । निर्णय यही महिनाको १६ गतेदेखि लागू हुने जनाइएको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा अर्को व्यवस्था नभएसम्म निजी स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने गैर–आकस्मिक स्वास्थ्य बीमा सेवा बन्द रहने उल्लेख गरिएको छ ।
पछिल्लो समय स्वास्थ्य बीमा बोर्ड गम्भीर वित्तीय संकटमा परेको छ । समयमै भुक्तानी गर्न नसक्दा सरकारी अस्पतालहरूमा समेत स्वास्थ्य बीमा सेवा प्रभावित हुँदै गएको बताइएको छ।




















