काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईंलाई जिल्ला अदालत पर्साले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई हिरासतमा नराखी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
यसअघि सर्वोच्च अदालतले पनि प्रसाईंलाई थप हिरासतमा नराख्न तथा तोकिएको म्यादभित्र अनुसन्धान टुंग्याउन निर्देशन दिएको थियो। अदालतले अनुसन्धान नसकिए पनि हिरासत बाहिरै राखेर प्रक्रिया अघि बढाउन सरकारका नाममा परमादेश जारी गरेको थियो।
सर्वोच्चको आदेशअनुसार तोकिएको म्याद आइतबार सकिएको थियो। त्यसको भोलिपल्ट सोमबार प्रसाईंविरुद्ध मुद्दा दर्ता गरिएको हो।
प्रहरीले उनलाई वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई लिएर साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा पक्राउ गरेको थियो। कार्यक्रमका लागि पर्सा पुगेका बेला जेठ ४ गते उनलाई नियन्त्रणमा लिइएको थियो।
प्रसाईंको तर्फबाट आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। उक्त रिटमा न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट खारेज गर्दै थप म्याद नथप्न सरकारलाई आदेश दिएको थियो।
प्रसाईंलाई पक्राउ गरेपछि पर्सा जिल्ला अदालतले जेठ ५ गते पहिलो पटक तीन दिन र जेठ ७ गते दोस्रो पटक चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।




















