काठमाडौँ । ललितपुर जिल्ला अदालतले मितेरी वचत तथा ऋण सहकारी संस्था लि.को रकम हिनामिना प्रकरणमा कांग्रेस नेता धनराज गुरुङ की पूर्वपत्नी ज्योती गुरुङका नाममा २१ दिने सूचना जारी गरेको छ।
सोमबार अदालतले सूचना प्रकाशित गर्दै ज्योती गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित भएर आफ्नो पक्षमा सबुत–प्रमाणसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको हो।
मितेरी सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको अदालत स्रोतले जनाएको छ।
अदालतद्वारा जारी सूचनामा ‘बोध बिक्रम थापा’ले ज्योती गुरुङविरुद्ध लेनदेन मुद्दा दायर गरेको उल्लेख गरिएको छ। यसअघि जारी म्याद बदर भएपछि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ को उपदफा (२२) बमोजिम नयाँ सूचना प्रकाशित गरिएको अदालतले जनाएको छ।
सूचनामा पत्रिकामा प्रकाशित मितिदेखि बाटोको म्यादबाहेक २१ दिनभित्र स्वयं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत अदालतमा उपस्थित हुन भनिएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए कानुनअनुसार मुद्दा प्रक्रिया अघि बढ्ने र पछि कुनै उजुर लाग्ने छैन भन्ने चेतावनीसमेत दिइएको छ।
अदालतले जारी गरेको सूचनामा ज्योती गुरुङको तीनपुस्ते विवरण उल्लेख गर्दै उनका पति रूपमा धनराज गुरुङकै नाम उल्लेख गरेको छ।




















