काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद जयपति रोकायाले हुम्ला–बाजुरा सीमा विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको भन्दै संवाद र वार्तामार्फत तत्काल समाधान खोज्न सरकारसँग माग गरे ।
उनले राजमार्ग बन्द हुँदा बिरामी, परीक्षा दिन जाने विद्यार्थी तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारण प्रभावित भएको बताए । “दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ,” उनले भने ।
त्यसैगरी सांसद केपी खनालले रानीसिंह क्षेत्रको विवादका क्रममा धनगडी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल सहितको टोलीमाथि दुर्व्यवहार भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
खनालले हिमाली गाउँपालिका–साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको महत्वपूर्ण भण्डार भएको उल्लेख गर्दै वर्षौंदेखि तस्करहरूले अवैध रूपमा जडीबुटी तथा वन्यजन्तुको कारोबार गर्दै आएको बताए । उनले त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी चौकी स्थापना गर्ने प्रयासका क्रममा विवाद उत्पन्न भएको धारणा राखे ।
साथै उनले स्थानीय नागरिकको सुरक्षा, जडीबुटी संरक्षण तथा घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे ।
सांसद जनकराज गिरीले पनि जेठ ४ गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतमाथि भएको साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले उक्त क्षेत्रको सीमा विवाद तत्काल समाधान गरी शान्ति सुरक्षा कायम गर्न सरकारसँग आग्रह गरे ।




















