काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस (मे दिवस) का अवसरमा श्रमिक हितसँग सम्बन्धित तीन वटा महत्वपूर्ण घोषणा गरेका छन्।
भिडियो सन्देश जारी गर्दै मन्त्री यादवले पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको जानकारी दिए। उक्त कार्यक्रममार्फत श्रमिकको सुरक्षा, स्वास्थ्य तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने लक्ष्य राखिएको उनले बताए।
दोस्रो घोषणाअन्तर्गत विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विभिन्न देशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी/कन्सुलरमार्फत हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। “अब तपाईंहरू जहाँ हुनुहुन्छ, सरकार तपाईंसँगै छ,” मन्त्री यादवले सन्देशमा भने।
त्यसैगरी तेस्रो घोषणाअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकलाई घडेरी खरिदका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने उनले बताए। साथै, नियमानुसार रु १ करोड ५० लाखसम्म सापटी लिन सक्ने व्यवस्था मिलाइएको पनि उल्लेख गरे।
यसका अतिरिक्त नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नयाँ रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू अघि बढाइएको मन्त्री यादवले जानकारी दिए।
“श्रमको सम्मान नै देश विकासको आधार हो,” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सरकारले सबै क्षेत्रका श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कार्य वातावरण र श्रम अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनले बताए।
उनले निर्माण मजदुरदेखि चिकित्सक, किसान, कानुन व्यवसायी, घरेलु श्रमिक, इन्जिनियर र शिक्षकसम्म सबैलाई राष्ट्र निर्माणका महत्वपूर्ण श्रमिकका रूपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्दै एक–अर्काप्रति कृतज्ञता र सम्मानको संस्कार सुदृढ गर्नुपर्नेमा जोड दिए।




















