काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ । शुक्रबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँले घटाइएको छ ।
नयाँ दरअनुसार अब पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल–मट्टितेल २२५ रुपैयाँमा झरेको निगमले जनाएको छ । पछिल्लो समय इन्धनको मूल्य तीव्र रूपमा बढेपछि सरकार आलोचनामा पर्दै आएको अवस्थामा यो समायोजनले उपभोक्तालाई आंशिक राहत दिएको छ ।
यद्यपि, सबै क्षेत्रमा भने मूल्य घटेको छैन । निगमका अनुसार हवाइ इन्धन (आन्तरिक) प्रतिलिटर ७ रुपैयाँले बढेर २६९ रुपैयाँ पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाइ इन्धन प्रतिकिलोमिटर ४६ अमेरिकी डलरले वृद्धि भई १,८३१ अमेरिकी डलर कायम गरिएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभन बिन्दुमा मूल्य निर्धारण गरिएको निगमले जनाएको छ।
यसैबीच, खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ। अब १४.२ किलोग्रामको ग्यास सिलिन्डर २,१६० रुपैयाँ र ७.१ किलोग्रामको १,०८० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो मूल्यभन्दा प्रतिसिलिन्डर १५० रुपैयाँ बढी हो।
निगमले पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको उल्लेख गर्दै सोही प्रभाव नेपालमा पनि परेको जनाएको छ ।




















