काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनमार्फत अवैध कारोबार गरेको आरोपमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा दायर गरेको छ।
विभागका अनुसार पर्वत स्थायी घर भएका तथा हाल बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौं बस्दै आएका ४३ वर्षीय पौडेल दम्पतीले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको अभियोगमा यसअघि नै ६२ करोड ६५ लाख ९१ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
उक्त कसूरबाट आर्जित सम्पत्तिबारे थप अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत कसूर गरेको तथ्य स्थापित भएपछि विकल पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार रुपैयाँ र एलिना बस्नेतविरुद्ध ७ करोड ८१ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ।
सोही आधारमा दुवैजनाविरुद्ध कुल ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँभन्दा बढी बिगो, दोब्बर जरिवाना, कैद सजाय तथा अवैध सम्पत्ति जफतको मागदाबी सहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ।




















