काठमाडौं । ‘देशमा केही भएन’ भन्ने बलियो भाष्य चलिरहेकै बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘आर्थिक स्थितिपत्र’ले पछिल्लो एक दशकमा नेपालले हासिल गरेको प्रगतिले छलाङ मारेको तथ्यांकले उजागर गरेको छ।
सोमबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनले विशेषगरी २०७२ सालको भूकम्पपछिदेखि २०८२/८३ सम्मको आर्थिक तथा सामाजिक परिवर्तनलाई समेटेको छ। यही अवधिमा देशमा विकास भएन, अवस्था झन् खस्कियो भन्ने धारणा व्यापक रूपमा फैलिएको थियो।
राजनीतिक रूपमा पनि २०४६ सालपछिको व्यवस्थालाई कमजोर देखाउन केही समूहले ‘देशमा केही भएन’ भन्ने भाष्य निर्माण गर्दै आएका थिए। पछिल्लो समय सामाजिक सञ्जालदेखि विभिन्न आन्दोलनसम्म यसले प्रभाव पारेको देखिन्छ।
तर सार्वजनिक गरिएको तथ्यांकले भने फरक तस्वीर देखाउँछ। आर्थिक वर्ष २०७२/७३ मा २६ खर्ब ८ अर्ब रुपैयाँ रहेको अर्थतन्त्रको आकार २०८१/८२ मा बढेर ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, भूकम्प र नाकाबन्दीका कारण ०.४३ प्रतिशतमा झरेको आर्थिक वृद्धिदर २०८१/८२ मा ४.६१ प्रतिशत पुगेको छ भने चालु वर्षमा ३.५ प्रतिशत रहने अनुमान गरिएको छ।
प्रतिव्यक्ति आय पनि ८९९ अमेरिकी डलरबाट बढेर १,५१७ डलर पुगेको छ। अर्थतन्त्रको संरचनामा कृषिको योगदान घट्दै जाँदा सेवा क्षेत्रको हिस्सा बढेको छ भने उद्योग क्षेत्र भने स्थिर जस्तै देखिन्छ।
ऊर्जा र पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। विद्युत उत्पादन क्षमता ६९७ मेगावाटबाट बढेर ४,१०५ मेगावाट पुगेको छ भने करिब ९९ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ। कालोपत्रे सडक पनि ११ हजार ७९८ किलोमिटरबाट बढेर २० हजार २०२ किलोमिटर पुगेको छ।
यद्यपि, सार्वजनिक ऋण उल्लेख्य रूपमा बढेको छ। २०७२ मा ५ खर्ब ४४ अर्ब रहेको ऋण २०८२ सम्म २८ खर्ब ७८ अर्ब पुगेको छ। तर राजस्व संकलन पनि सोही अवधिमा ४ खर्बबाट बढेर ११ खर्बभन्दा माथि पुगेको छ।
विदेशी मुद्रा सञ्चिति १० खर्ब ३९ अर्बबाट बढेर ३४ खर्बभन्दा बढी पुगेको छ, जसले करिब साढे १८ महिनाको आयात धान्न सक्ने अवस्था देखाउँछ। रेमिटेन्स आप्रवाह पनि उल्लेख्य रूपमा बढेको छ।
सामाजिक क्षेत्रमा साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६.३ प्रतिशत पुगेको छ। मातृ तथा शिशु मृत्युदरमा कमी आएको छ भने गरिबीको रेखामुनि रहेको जनसंख्या पनि घटेको छ।
समग्रमा, आर्थिक स्थितिपत्रले पछिल्लो दशकमा नेपालले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरेको संकेत गर्दै ‘देशमा केही भएन’ भन्ने धारणा पूर्ण रूपमा यथार्थसँग मेल नखाने देखाएको छ।




















