रुकुमपूर्व । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सीतालगायत ठाउँमा पहिरो झरेको छ । यसैगरी, मुरुका दुई स्थानमा पहिरो झरेको छ भने पहिरोकै कारण धाउन्ने सडकखण्ड पनि अवरुद्ध हुन पुगेको छ ।
प्रहरी सहायक निरीक्षक थापाले भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिँदै मौसममा सुधार नआएसम्म यात्रा गर्दा जोखिम हुने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रहसमेत गरे ।
शनिबार साँझ करिब ६:०० बजेदेखि रुकुमपूर्वमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । वर्षासँगै आएको असिनाले गहुँबालीमा क्षति पुगेको छ । (रासस)



















