बुटवल । कपिलवस्तुमा स्कार्पिओ गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी.३२ सीए ८३४३ नम्बरको भारतीय स्कार्पिओ सडक किनारमा रोकिएको लु.१ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए। दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कपिलवस्तुमा राखिएको छ।
घटना हुलाकी सडक खण्डमा गएराति भएको हो। दुर्घटनामा महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्।
घाइतेमध्ये नन्दप्रसाद दुबे गम्भीर भएकाले उनलाई थप उपचारका लागि भैरहवा लगिएको छ।
ट्रक चालक २८ वर्षीय सुरज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार हुलाकी सडकमा रातिको समयमा सवारी साधन सडक किनारमै रोक्ने प्रवृत्तिका कारण यस्ता दुर्घटना बढ्दै गएका छन्।



















