काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको स्वतन्त्रता र हितबाहेक राज्यको अरु कुनै स्वार्थ नहुने बताएका छन् । नव वर्ष २०८३ को शुभकामना सन्देश दिँदै उनले लक्ष्य प्राप्त गर्न संकल्प र साधना चाहिने बताएका हुन् ।
उनले नेपालमा प्रचलनमा रहेका संवत्हरू इतिहास, सभ्यता र जीवनका महत्त्वपूर्ण हिस्सा भएको बताए। ‘हाम्रो देशमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्त्वपूर्ण हिस्सा हुन् । जसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउँछन् र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्दछन्।’ शुभकामना दिँदै उनले भने, ‘हामी नेपालीहरूले नव वर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यहरूका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिँदै आएका छौं । विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न संकल्पवद्ध रहने हाम्रो परम्परा रहिआएको छ । त्यसैले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन पनि हो ।’
भर्खरै मुलुकमा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको र जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको उनको भनाई छ । ‘यो निर्वाचनमार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन् र यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने संकल्प गरौं भन्ने पनि चाहेका छन् ।’ सन्देशमा भनिएको छ,‘जुन संकल्पलाई हाम्रा सन्ततीहरूले भोली हामीमाथि गर्व गरुन् र भनुन् हाम्रा पुर्खाहरूले लोकतन्त्रको आलोकमा अगाडि बढ्ने जुन संकल्प गरे, त्यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण क्षण थियो । त्यो लक्ष्यले हामी सबैलाई एकतावद्ध भई अगाडि बढ्न प्रेरित गरोस् ।’




















