काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ, जुन आर्थिक वर्ष २०२५ को ४.६ प्रतिशतको तुलनामा उल्लेख्य रूपमा कम हो ।
एडिबीले आफ्नो वार्षिक आर्थिक प्रकाशन एशियन डेभलपमेन्ट आउटलुक मार्फत यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो। नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले राजनीतिक अनिश्चितता, नागरिक अशान्ति र मध्यपूर्वमा जारी द्वन्द्वका कारण आर्थिक गतिविधिमा सुस्तता आउने बताएका छन्।
उनका अनुसार राजनीतिक स्थायित्व फर्किएमा अर्थतन्त्रमा सुधार र आत्मविश्वास बढ्ने सम्भावना रहे पनि मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य, पर्यटन र विप्रेषणमा नकारात्मक असर पार्ने जोखिम कायम छ।
एडिबीले विद्यमान चुनौतीहरू क्रमशः कम हुँदै गएमा आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटन क्षेत्रमा सुधार भई आर्थिक वर्ष २०२७ मा कुल गार्हस्थ्य उत्पादन (जीडिपी) वृद्धिदर ५ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ।
मुद्रास्फीति दर आर्थिक वर्ष २०२६ मा करिब ३.७ प्रतिशत रहने र २०२७ मा ४.५ प्रतिशतसम्म बढ्ने प्रक्षेपण छ। यस्तै, मध्यपूर्वको द्वन्द्वका कारण चालु खाता बचतमा समेत दबाब पर्ने देखिएको छ।
विप्रेषण आप्रवाह र निर्यात वृद्धिमा कमीका कारण आर्थिक वर्ष २०२६ मा चालु खाता बचत जीडिपीको ७.२ प्रतिशत रहने अनुमान गरिएको छ भने २०२७ मा आयात लागत वृद्धि र पर्यटनमा असरका कारण यो घटेर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ।




















