
गोरखा । नेपाली सेना ले ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा चौथो संस्करणको पदयात्रा शुक्रबारदेखि सुरु गरेको छ।
गोरखा दरबार को हनुमानभञ्ज्याङमा आयोजित कार्यक्रममा सहभागी टोलीलाई झण्डा र टर्च लाइट हस्तान्तरण गर्दै बिदाइ गरिएको हो। कार्यक्रममा पश्चिम पृतना पोखराका उपरथी भोलानाथ थापा, पालुङटार नगरपालिका का मेयर विवश चिन्तन, गोरखा नगरपालिका की उपमेयर मसली माया थोकर लगायतको सहभागिता थियो ।
पदयात्रामा सेनानी रोशन अधिकारी को कमाण्डमा ३५ जनाको टोली सहभागी छ। टोलीले तनहुँ, पाल्पा हुँदै रुपन्देही को जितगढी किल्ला पुगेर पदयात्रा टुंग्याउनेछ।
गोरखाबाट सुरु भएको यात्रा आठ दिनमा करिब २०७ किलोमिटर दूरी पार गर्ने लक्ष्य राखिएको छ। झण्डा र टर्च क्रमशः विभिन्न जिल्लामा हस्तान्तरण गर्दै अन्तिम टोली वैशाख ६ गते जितगढी पुग्ने र भोलिपल्ट मनाइने विजय उत्सवमा सहभागी हुने कार्यक्रम छ।
यो पदयात्रा अंग्रेज–नेपाल युद्ध का क्रममा तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीमाथि प्राप्त विजयको सम्झनामा गरिन्छ। साथै, ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।




















