सुर्खेत । इनिसा विकको शव २७ दिनपछि आज आफन्तले बुझ्ने भएका छन् । प्रदेश अस्पतालको शव गृहमा राखिएको उनको शव आज भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।
मंलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारैजना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएपछि परिवार इनिसाको शव बुझ्न तयार भएका हुन् ।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भइ वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । गत फागुन २३ गते बिहान टियुसन पढ्न जाने भन्दै घरबाट निक्लिएकी उनी सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ मा रहेको शहीद पार्क नजिकै जङ्गलमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले प्रदेश अस्पताल कालागाउँ पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही घटनामा प्रहरीले चार जना युवकलाई नियन्त्रणमा दिएको थियो । प्रारम्भिक रूपमा घटना शंकास्पद देखिएपछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।
इनिसा घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै देशैभर विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए ।




















