म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ । ‘नाङ्गेदेवी’ र ‘बौसा हान्ने डाँडा’का रूपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृष्यावलोकन स्थलको रूपमा विकास गर्न दर्मिजावासीले अग्रसरता देखाएका छन् । पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका दर्मिजाको तातोपानी कुण्ड, जागा झरना, बौसा हान्ने डाँडा र नाङ्गेदेवी थानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गराउन पहल थालिएको दर्मिजाका अगुवा विप्रसाद पुनले जानकारी दिनुभयो । “हिमश्रृङ्खला, सूर्योदय, पहाडी भूगोलको मनमोहक दृष्यावलोकन गर्न सकिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र प्रचारप्रसारको कामीले ओझेलमा परेको छ,” उहँले भन्नुभयो “समुदाय स्तरबाट पूर्वाधार निर्माण र प्रवर्धनको काम थालिएको दर्मिजा भ्यू पोइन्टको विकासका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट बजेट र योजना भित्र्याउन पहल भएको छ ।”
दर्मिजा गाउँदेखि दुई घण्टाको उकालो बाटोको पैदलयात्रा गरेपछि पुगिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ बाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।
समुद्री सतहदेखि दुई हजार सात सय मिटर उचाईमा पहाडको टाकुरामा अवस्थित दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ वरपर घना जङ्गल छ । वसन्त ऋतुमा वनपाखामा लालीगुराँस फुल्दा वातावरण उमङ्ग र रमणीय हुने स्थानीयवासी शिव पाइजाले अनुभव सुनाउनुभयो । म्याग्दी, बागलुङ, पर्वत जिल्लाका ग्रामिण बस्तीहरू अवलोकन गर्न पाइने यो ठाउँ बस्ती देखि टाढा र एकान्तमा अवस्थित छ ।
सहर बजारको कोलाहल, व्यस्त दैनिकी र प्रदुषणबाट टाढा भएर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ उपयुक्त गन्तव्य बन्न सक्छ । यहाँ स्थानीयवासीले वैशाख महिनामा नाङ्गेदेवीको पूजा गर्दछन् । नाङ्गेदेवीको पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने र गाउँमा अनिष्ट नहुने जनविश्वास छ ।
नाङ्गेथान नजिकै दगनामका नक्कलबहादुर गर्बुजा र दर्मिजाका इन्दरबहादुर र नरबहादुर मगरले व्यक्तिगत लगानीमा आश्रयस्थल निर्माण गर्नुभएको छ । सोही स्थानका हीराबहादुर पुनका सहयोगमा खानेपानी व्यवस्था गरिएको छ । हाल बेलायतमा रहेका पुनको सहयोगमा सार्वजनिक शौचालय पनि निर्माणको तयारी भएको छ ।
रघुगङ्गा गाउँपालिकाको चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् दर्मिजादेखि जागा झरना जोड्ने पदमार्ग निर्माण भएको छ । जागा झरना हुदै दर्मिजा भ्यू पोइन्ट जान सकिन्छ । पदमार्ग निर्माणका लागि गाउँपालिको चालु आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । दर्मिजा गाउँमा घरवासको सुविधा छ । दर्मिजाको फेदीमा प्राकृतिक तातोपानीको कुण्ड रहेको छ । (रासस)


















