काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीन आरोपपत्रहरू संशोधन गरी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ सकिएको छ। सुनुवाइ सकिए पनि फैसला आउन भने बाँकी छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासलमा सुनुवाइ सकिएको हो। आइतबारदेखि रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएको थियो। बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले सुनुवाइ भएन।
यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासले नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो। गत माघ ६ गते न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश र अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश दिएको थियो।




















