विराटनगर । निर्वाचनको मौन अवधि सुरु भएकै रात विराटनगरको संवेदनशील क्षेत्रमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय प्रशासन र सर्वसाधारणमा त्रास फैलिएको छ।
सोमबार राति जिल्ला प्रशासन कार्यालय मोरङ नजिकै रहेको विराटनगर महानगरपालिका–७ स्थित डाँफे चोकमा कालो प्लास्टिकको झोला देखिएपछि बम हुनसक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
सीसी क्यामेरा फुटेजमा मध्यराततिर स्कुटरमा आएका एक व्यक्तिले झोला छाडेर गएको देखिएपछि नेपाल प्रहरीले तत्कालै उक्त क्षेत्र सिल गरी नेपाली सेनालाई खबर गरेको थियो।
सूर्यदल गणबाट खटिएको सेनाको बम डिस्पोजल टोली र प्रहरीको संयुक्त टोलीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातभर क्षेत्रलाई कडा निगरानीमा राखेका थिए।
मंगलबार बिहान करिब ७ बजे सेनाको टोलीले झोला खोलेर जाँच गर्दा त्यसभित्र कुनै विस्फोटक पदार्थ नभई माटोको हाँडी, खरानी र पूजाका सामग्री मात्र फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालले निर्वाचनको समयमा यस्तो शंकास्पद गतिविधि देखिएपछि सम्भावित खतरा मानेर उच्च सतर्कता अपनाइएको बताए।
उनका अनुसार जाँचपछि मात्रै पूजाको सामग्री रहेको पुष्टि भएको हो र अहिले अवस्था सामान्य बनेको छ। निर्वाचन अवधि अत्यन्त संवेदनशील हुने भएकाले प्रशासन थप सचेत रहनु परेको उनको भनाइ छ।
घटनामा विस्फोटक पदार्थ नभेटिए पनि सार्वजनिक स्थानमा त्रास फैलाउने गरी वस्तु राख्ने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।




















