सर्लाही । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष देश सञ्चालन गर्ने जिम्मेवारी कांग्रेसलाई दिन आग्रह गर्दै “बिना दुर्घटना तीव्र गतिमा देशलाई अगाडि बढाउने” प्रतिबद्धता व्यक्त गरेका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा आज आयोजित सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिने बताए । उनका अनुसार प्रत्येक महिनाको १ गते सरकारले गरेका कामहरूको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिनेछ ।
थापाले सर्लाही क्षेत्र नं. १ कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यसको समग्र विकासमा विशेष प्राथमिकता दिइने बताए । देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन योगदान दिइरहेको यस क्षेत्रको कृषि, सिँचाइ तथा पूर्वाधार विकासमा प्रभावकारी योजना ल्याइने उनले जानकारी दिए ।
माछापालनको उच्च सम्भावना रहेको उल्लेख गर्दै उनले माछापालक किसानलाई राहत तथा प्रोत्साहन कार्यक्रम ल्याइने बताए । समयमै रासायनिक मल, उन्नत बीउ तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउने ठोस योजना अघि सारिने उनको भनाइ थियो।
विदेशिने बाध्यता अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना गरिने उल्लेख गर्दै थापाले विकास निर्माणमा अवरोध पुर्याउने ऐन–कानुन संशोधन गरिने बताए । ठेक्का प्रक्रियामा हुने ढिलासुस्ती अन्त्य गरी गुणस्तरीय र छिटो काम गर्ने निर्माण व्यवसायीलाई प्राथमिकता दिने व्यवस्था मिलाइने उनले दाबी गरे ।




















