
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ को सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबारदेखि सञ्चालनमा आएको छ।
गुरुकुल विल्डर्स एन्ड सप्लायर्सले जडानको जिम्मा लिएको बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति भएको छ। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त बेलिब्रिजको लम्बाइ ५१.८१ मिटर छ।
बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकारले एक करोड ८७ लाख रुपैयाँमा खरिद गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए। लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका स्थानीय बासिन्दा बेलिब्रिज सञ्चालनमा आएपछि उत्साहित भएका छन्।
बङ्शिलाघाटमा मोटरेबल पक्की पुलसमेत निर्माणाधीन छ। बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग बेलिब्रिज जडानको माग गरेका थिए। सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारको लगानीमा बेलिब्रिज जडान गरिएको बराहपोखरी गाउँपालिका अध्यक्ष सालिकराम बञ्जराले बताए।
यसैबीच, दक्षिणी क्षेत्रका नागरिकलाई पूर्वी तराईसँग सिधा यातायात सेवामा जोड्ने उद्देश्यले सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले पछिल्लो समय गति लिएको छ। धाप्लाङघाट पुलको निर्माण कार्य ४३ प्रतिशत सम्पन्न भएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहले जानकारी दिए।
उनका अनुसार सुरुआतमा वेल फाउन्डेसन प्रविधिमा निर्माण थालिएको पुल पछि डिजाइन परिवर्तन गरी पाइल फाउन्डेसन प्रविधिमा निर्माण भइरहेको छ। हाल स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ।
सङ्घीय सरकारको २१ करोड ६५ लाख रुपैयाँ लगानीमा २०७३ साल असार ३० गते निर्माण सम्झौता भएको धाप्लाङघाटको २ सय मिटर लामो मोटरेबल पुल करिब नौ वर्षदेखि निर्माणाधीन अवस्थामा छ। पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।
यसअघि सुनकोशीकै फोक्सिङटारमा पनि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा बाढीले मोटरेबल पुल बगाएपछि बेलिब्रिज जडान गरिएको हो।
फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएपछि घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए। निर्माण कम्पनी एमएएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालिले मूल्य अभिवृद्धि करसहित ९६ लाख ७७ हजार ९ सय ३७ रुपैयाँमा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडान गरेको हो।
गत वर्ष असोज १२ गतेको अविरल वर्षाका कारण सुनकोशीमा आएको बाढीले फोक्सिङटारको १ सय २० मिटर लामो मोटरेबल पुल बगाउँदा दिक्तेल–गाईघाट सिधा यातायात पूर्ण रूपमा विच्छेद भएको थियो।



















