बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टी हितविपरीत व्यक्तिवादी गतिविधिमा संलग्न भएको आरोपमा उनलाई कारबाही गरिएको प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिअनुसार काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि निष्कासन गरिएको हो।
उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नी पत्नी जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएकाले कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
काराखेती निष्कासित भएपछि रुपन्देही–३ मा प्रलोपा तर्फबाट उम्मेदवार नहुने भएकाले अब कसलाई समर्थन गर्ने भन्ने विषयमा पार्टी बैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले जानकारी दिए।
‘यस्ता गतिविधिले पार्टीको छविमा क्षति पुगेको निष्कर्ष निकाल्दै केन्द्रीय, प्रदेश र जिल्ला समितिको संयुक्त निर्णयमा उनलाई पार्टीबाट हटाइएको हो,’ विज्ञप्तिमा भनिएको छ।
प्रलोपा रुपन्देही–३ की इन्चार्ज रविना भण्डारीले काराखेतीले पार्टीलाई जानकारी नदिई व्यक्तिगत स्वार्थका लागि अर्को दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि कारबाही गर्नुपरेको बताइन्। उनले काराखेतीको पक्षमा पार्टीका कोही पनि नरहेको दाबी गर्दै उनको व्यक्तिगत निर्णयले पार्टीलाई असर नपर्ने भनिन्।
यसैबीच, काराखेतीले आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णयमा पुगेको बताएका छन्। पार्टीले रकम मागेको आरोप अस्वीकार गर्दै उनले ती आरोप गलत भएको दाबी गरेका छन्।
तर जिल्ला इन्चार्ज राईले काराखेतीले आफ्नो ह्वाट्सएप नम्बरबाट क्यूआर कोड पठाउँदै पटक–पटक फोन गरेर रकम मागेको विषय सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेको जनाएका छन्।





















