काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी गरिएको छ। सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लागू गरिएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू गरिएको छ। सो क्षेत्रमा कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।
आदेशको उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ।
वीरगञ्जमा मस्जिद तोडफोड र आगजनीसम्बन्धी घटनापछि आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए। त्यसैगरी, हिन्दु मन्दिर तथा देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै सोमबार बिहानदेखि हिन्दुवादी समूहहरू पनि प्रदर्शनमा उत्रिएका थिए।
आज बिहान १० बजे समेत हिन्दुवादी संगठनहरूले वीरगञ्जमा प्रदर्शन गरेपछि दुवै समुदायबीच तनाव बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रजिअ दाहालले बताएका छन्। प्रशासनले वार्तामार्फत विवाद समाधान गर्ने प्रयास भइरहेको जानकारी पनि दिएको छ।





















