मकवानपुर । भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज साँझ करिब ५:२० बजे काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोली साँझ ५:३० बजे घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो। सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा ६ जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
घाइते ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



















