काठमाडौँ । अमेरिकाले भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको छ।
शनिबार भेनेजुएलामा हवाई हमला गरी पत्नीसहित त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो नियन्त्रणमा लिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाइएको घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको छ।
मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलालाई जनवरी ४ मध्यराति अमेरिका पुर्याइएको छ।
उनीहरू बोकेको अमेरिकी सैन्य विमान न्युयोर्कको स्टुअर्ट एयर नेसनल गार्ड बेसमा अवतरण गरेको थियो।
कडा सुरक्षाबीच मादुरो दम्पतीलाई विमानबाट ओरालिएको थियो। मादुरोको हातमा हतकडी लगाइएको थियो।
घटनापछि ट्रम्पले शनिबार फ्लोरिडामा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएका छन्।
मादुरोको तस्बिरसहित ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा।’
ट्रम्पले पत्रकार सम्मेलनमा बताएअनुसार, ‘मादुरो राष्ट्रपति दरबारमा थिए, जुन किल्लाजत्तिकै सुरक्षित थियो। त्यो विशेष सुरक्षासहितको कोठा थियो, जसलाई स्टिलको पर्खालले घेरिएको थियो। मादुरो त्यो कोठामा प्रवेश गर्न खोजिरहेका थिए, तर अमेरिकी सेना यति छिटो प्रवेश गरे कि उनले ढोका बन्द गर्नै पाएनन्।’
यस्तै अमेरिकाका संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले यो अपरेसनका लागि महिनौँदेखि अभ्यास गरिएको बताए।
उनका अनुसार ‘अमेरिकी सेनालाई मादुरो के खान्छन्, कहाँ बस्छन्, कस्ता लुगा लाउँछन्, उनका घरपालुवा जनावर के कति छन् भन्नेसम्म जानकारी थियो। यतिसम्म कि अभ्यासका लागि अमेरिकी सेनाले मादुरोको घरजस्तै नक्कली भवनसमेत बनाएका थिए।’
ट्रम्पले भनेका छन्, ‘अपरेसन पूर्ण अँध्यारोमा गरिएको थियो। अमेरिकी सेनालाई सजिलोका लागि काराकास (भेनेजुएलाको राजधानी) का सबै बत्ती निभाइएको थियो। आक्रमणका क्रममा कम्तीमा सातवटा विस्फोट गरिए। पूरा अपरेसन ३० मिनेटभन्दा कम समयमै सकिएको थियो।’
उनको दाबीअनुसार ‘यो अपरेसनका क्रममा केही अमेरिकी सैनिक घाइते भए पनि कोही मारिएका छैनन्। एउटा हेलिकप्टरमा क्षति पुगे पनि सुरक्षित फर्किएको छ।’
ट्रम्पले भेनेजुएलामा चार दिनअघि नै हमला गर्ने योजना रहेको तर मौसमले साथ नदिएपछि बादल हट्नेबित्तिकै शनिबार गरिएको पनि बताए।
यसैबीच सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सेनाले मादुरो र उनकी श्रीमतीलाई बेडरुम (ओछ्यान) बाटै थुतेर लगेको उल्लेख गरेको छ । (एजेन्सी)




















