
खोटाङ । कोशी प्रदेश सरकारले खोटाङमा निजी तथा सार्वजनिक क्षेत्रको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको तीन करोड रुपैयाँको लगानीमा केन्द्र सञ्चालन गरिने जनाइएको छ । प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीको वैज्ञानिक ढङ्गले सङ्कलन, भण्डारण र प्रशोधन गर्ने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
खोटाङ उद्योग वाणिज्य सङ्घको समन्वयमा हालै दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले खोटाङमा स्थापना हुने यो केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र हुने बताए । प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालन हुने केन्द्रले जडीबुटीको अव्यवस्थित सङ्कलन र निर्यातलाई व्यवस्थित गर्दै स्थानीयस्तरमै मूल्य निर्धारण गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
दश स्थानीय तह रहेको खोटाङमा केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीका अवसर सिर्जना हुने, जडीबुटी खेतीप्रति आकर्षण बढ्ने र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र खोटाङ उद्योग वाणिज्य सङ्घसँग सम्बद्ध कार्यदलले तयार पारेको विस्तृत योजनाअनुसार केन्द्र सञ्चालनको तयारी गरिएको हो। केन्द्र स्थापना भएपछि जडीबुटीको गुणस्तर परीक्षण, प्रशोधन, प्याकेजिङ र बजार व्यवस्थापन जिल्लामै गरिने जनाइएको छ ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी र स्थानीय सरोकारवालाहरूले जडीबुटी क्षेत्रको सम्भावना र चुनौतीबारे धारणा राख्दै प्रदेश सरकारको योजनाले जिल्लाको दीर्घकालीन आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
हाल जिल्लामा उत्पादित जडीबुटी व्यवसायीले अव्यवस्थित रूपमा सङ्कलन गरी लैजाने गरेका छन् । उचित मूल्य निर्धारण नहुँदा किसान समस्यामा पर्दै आएका छन् । सडक सञ्जाल विस्तारसँगै जडीबुटी निर्यात बढ्दै गएको र चिराइतो, पाखनभेद, तेजपात, टिमुर, तुलसी, लोठसल्ला, लेमनग्रास र मजिटोलगायत जडीबुटीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

























