काठमाडौं । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले सन् १९९० मा पारित गरेको अन्तर्राष्ट्रिय महासन्धिको सम्झनामा हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाइँदै आएको हो । यस अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूले आप्रवासी श्रमिकका अधिकार सुनिश्चिततासम्बन्धी कानुन र नीतिबारे छलफल गर्दै सरकार तथा राजनीतिक दलहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।
रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ । आप्रवासीहरू पुगेको देशको कानुनअनुसार सेवासुविधा र अधिकार पाउनुपर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्वपूर्ण अंशका रूपमा लिइन्छ ।
नेपाली आप्रवासीहरू आफ्नो तथा परिवारको आर्थिक उन्नति र भलाइका लागि विदेशमा श्रम गर्दै आएका छन् । विशेष गरी खाडी मुलुकहरू, मलेसिया, दक्षिण कोरिया, युरोप र पूर्वी अमेरिका नेपालीहरूको प्रमुख गन्तव्य हुन् । हाल नेपालीहरू कामकै सिलसिलामा विश्वका करिब १९० देशमा पुगेका छन् । नेपालमा हरेक वर्ष आप्रवासी दिवस मनाइए पनि श्रमिकका समस्या भने उल्लेख्य रूपमा घट्न सकेका छैनन् । आप्रवासी दिवसका अवसरमा श्रमिकको सुरक्षा, सम्मानजनक काम र अधिकार सुनिश्चित गर्न सरकार तथा सरोकारवाला निकायको प्रभावकारी पहल आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।
सप्ताहव्यापी कार्यक्रम
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रूपमा मनाउन सुरु गरेको छ । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले पुस १ देखि ७ गतेसम्म श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रित गर्दै अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रूपमा मनाउन सुरु गरेको जनाएको हो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले दिवसका अवसरमा पुस ३ गते बिहीबार मूल समारोहका साथै रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगीता लगायतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राखेर दिवस मनाउन व्यवस्थापन समिति गठन गरिएको उनले बताएका थिए ।
त्यस्तै, उनले सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएपछि पुस ८ गतेदेखि लागू हुनेगरी श्रमिकको ठगी रोक्ने र सुरक्षालाई ध्यान दिँदै विशेष हेल्प सेन्टर सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । सरकारले यसवर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको राष्ट्रिय नारा ‘श्रम आप्रवासनका चक्रमा सुशासन : सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ तय गरेको छ ।

























