काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले मात्र वृद्धि भएको थियो। कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही महिनामा यो रकम १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.२ प्रतिशतले वृद्धि भएको थियो।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ–संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको थियो।

























